रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

काठमाडौं। ब्राजिलियन युवा खेलाडी एन्ड्रिकले यस सिजन अहिलेसम्म रियल मड्रिडको जर्सीमा मैदान उत्रिने मौका पाएका छैनन्। तर, प्रशिक्षक जाभी अलोन्सोले उनलाई छिट्टै नै खेल्ने अवसर दिइने बताउँदै धैर्य गर्न सल्लाह दिएका छन्।
२०२४ मा एन्ड्रिकले रियलसँग ६ वर्षको सम्झौता गरेका थिए। ‘वन्डर किड’को रूपमा चर्चित उनले त्यसपछि आफ्नो करिअरमा धेरै उतारचढाव भोगेका छन्।
चोटका कारण लामो समय मैदान बाहिर बिताए र फर्किएपछि पनि धेरैजसो समय बेन्चमै बस्नुपर्यो। पूर्वप्रशिक्षक कार्लो एन्सेलोटीको समयमा उनले केही खेल्ने मौका पाए पनि नयाँ प्रशिक्षक अलोन्सोको नेतृत्वमा अहिलेसम्म मैदानमा उत्रन पाएका छैनन्।
क्लब विश्वकपमा चोट बोकेका एन्ड्रिक यो सिजनको सुरुदेखि रियलको स्क्वाडमा छन्। क्लबले उनलाई लिएर ठूलो अपेक्षा राखेको छ। यो सिजन उनले रियलको प्रसिद्ध नम्बर ९ जर्सी पनि पाएका छन्।
यद्यपि, पूर्ण रूपमा फिट भए पनि उनले अझै प्रशिक्षकको विश्वास जित्न सकेका छैनन्। यहीबीच स्पेनी मिडियाले खेल्ने समय नपाएकाले एन्ड्रिक क्लब छोड्ने सोचमा रहेको समाचार प्रकाशित गरेका छन्। उनको लक्ष्य भनेको २०२६ को विश्वकपमा ब्राजिलको टोलीमा स्थान बनाउनु हो।
तर, प्रशिक्षक अलोन्सोले उनलाई अहिले हतार नगर्न आग्रह गरेका छन्। उनले भने,‘रियलमा सबै खेलाडी खेल्ने अवसर खोज्छन्। विशेष गरी युवा खेलाडीहरू निकै उत्साहित हुन्छन्। तर, प्रत्येक खेल परिस्थितिमा निर्णय गर्नुपर्छ। अहिले एन्ड्रिकलाई खेल्ने अवसर दिन कठिन छ। उसले धैर्य राख्नुपर्छ र सधैं तयार रहनुपर्छ। उसले बुझ्नुपर्छ कि ऊ रियलमा छ। उसका लागि समय अवश्य आउनेछ।’
आइतबार ला लिगाको एल क्लासिकोमा रियल र बार्सिलोना भिड्ने छन्। तर, खेलको महत्व हेर्दा यस पटक पनि एन्ड्रिकको मैदानमा उत्रने सम्भावना कम रहेको अनुमान गरिएको छ।






-1761410041277.webp&w=3840&q=75)





