भारत नआउने भए मेसी

काठमाडौं। भारतीय फुटबलप्रेमी अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई प्रत्यक्ष हेर्न आतुर छन्। तर, अर्जेन्टिनी राष्ट्रिय टोलीको सहभागितामा कोचीमा आयोजना हुन लागेको मैत्रीपूर्ण खेल स्थगित गरिएको छ।
यो खेल नोभेम्बर १७ मा जवाहरलाल नेहरू रंगशालामा आयोजना हुने तय गरिएको थियो। खेल स्थगित हुँदा भारतीय भूमिमा मेसीलाई खेल्दै हेर्ने चाहना बोकेका प्रशंसकहरूको आशामा ठूलो धक्का पुगेको छ।
खेल स्थगित भएको घोषणा स्पोन्सर संस्था रिपोर्टर ब्रड्कास्टिङ कम्पनीका महाप्रबन्धक आन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत गरेका हुन्। उनका अनुसार यो निर्णय अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको छलफलपछि गरिएको हो।
फिफाबाट आवश्यक स्वीकृति प्राप्त गर्न ढिलाइ भएको कारण बताइएको छ। अगस्टिनका अनुसार खेल अब आगामी कुनै फिफा अन्तर्राष्ट्रिय म्याच विन्डोमा सारिने सम्भावना छ। तर, अर्जेन्टिनाका केही सञ्चारमाध्यमहरूले यो खेल सन् २०२६ मार्चसम्म धकेलिन सक्ने बताएका छन्।
यो स्थगनको घोषणा खेलबारे लामो समयदेखि चलिरहेको अनिश्चितता र भ्रमबीच आएको हो। सुरुआती घोषणापछि विभिन्न विरोधाभासी वक्तव्यहरू आएका थिए, जसमा केरलाका खेल मन्त्रीसमेत संलग्न थिए।
हाल केरलाका खेल मन्त्रीको कार्यलयले यसबारे कुनै औपचारिक जानकारी नआएको बताएको छ र सम्बन्धित निकायहरूसँग परामर्शपछि पुष्टि गर्ने बताएका छन्।
यसअघि एएफएका प्रतिनिधिहरूले कोची रंगशालाको निरीक्षणसमेत गरेका थिए। यसले खेल पक्का हुने अपेक्षा जगाएको थियो। तर, हालको स्थगनले खेल कहिले हुने भन्ने विषय पुनः अनिश्चित बनेको छ र भारतीय प्रशंसकहरू फेरि पनि मेसीलाई प्रत्यक्ष हेर्ने अवसरको प्रतीक्षामा रहेका छन्।












