मियामीमा रहन पाउँदा खुसी छन् मेसी

काठमाडौं। अन्ततः लिओनल मेसीले इन्टर मायामीसँगको सम्झौता विस्तार गरेका छन्। दुवै पक्ष यसबारे पहिले नै सकारात्मक देखिएका थिए। मेसीले नयाँ दुई वर्षका लागि मायामीसँग सम्झौता गरेका छन्।
योसँगै उनी २०२८ सम्म फ्लोरिडामा ‘हेरोन्स’को जर्सीमा देखिनेछन्। नयाँ सम्झौतामा उनको तलब कति बढेको हो भन्ने कुरा भने कुनै स्रोतले पुष्टि गरेको छैन। मेसी फ्लोरिडा आएपछि इन्टर मायामी र मेजर लिग सकर (एमएलएस) दुबैको चर्चा चुलिएको छ। लिगको ब्रान्ड भ्यालु उल्लेखनीय रूपमा बढेको छ र मायामी विश्वभर परिचित भएको छ।
यति ठूलो परिवर्तन ल्याउने व्यक्तिलाई क्लबले राख्न आफ्नो सबै प्रयास गरेको थियो र अन्ततः त्यस प्रयासको सफलता पाएको छ। जारी सिजन सकिएपछि मेसीको मायामीसँगको सम्झौता समाप्त हुने थियो। तर, अब त्यो २०२८ सम्म लम्बिएको छ। उनले थप दुई वर्षका लागि सम्झौता गरेका छन्। तलब वृद्धिको विवरण भने सार्वजनिक गरिएको छैन।
मेसीले भने यो सम्झौताबाट आफू निकै खुसी भएको बताएका छन्। उनले भने,‘यहाँ रहन पाउनुमा म साँच्चिकै खुसी छु। जब म यहाँ आएको थिएँ, मैले स्पष्ट रूपमा भनेको थिएँ यो स्टेडियममा खेल्न पाउनु मेरो लागि सपना जस्तै हो। अहिले पनि त्यो अनुभूति उस्तै छ। हामी नयाँ स्टेडियम बनाउन लागिरहेका छौं, जहाँ हाम्रा समर्थकहरू बसेर खेल हेर्नेछन्। यो सोच्दै म रोमाञ्चित हुन्छु।’
मेसीले मायामीमा अनुबन्ध भएपछि क्लबलाई लिग्स कप जिताएका थिए। गत वर्ष उनको अद्भुत प्रदर्शनमा ‘हेरोन्स’ले ‘सपोर्टर्स शिल्ड’ जितेको थियो। यो सिजन पनि उनी उत्कृष्ट फर्ममा छन् र लिगका शीर्ष स्कोरर बनेका छन्। उनलाई राख्ने पछाडिको कारण उनको प्रदर्शन मात्र होइन, आगामी वर्ष क्लबले नयाँ स्टेडियम उद्घाटन गर्नेछ र त्यो समारोह मेसीको उपस्थितिमा गर्ने योजना बनाएको छ।
मायामीका मालिक डेभिड बेकह्यामले भने,‘मेसी जस्तो अरू कोही छैन। जब हामीले उनलाई साइन गरेका थियौं, त्यो असाधारण क्षण थियो। उनी अहिले पनि पहिले जस्तै समर्पित छन्। उनी सधैं जित्न चाहन्छन्। क्लबसँग उनको नयाँ सम्झौता देखाउँछ उनी कति प्रतिबद्ध छन्।’
मेसी एमएलएसमा आएपछि अमेरिकामा शीर्ष खेलाडीहरूको आगमन पनि बढेको छ। मायामीमा लुइस सुआरेज, जोर्डी आल्बा, सर्जियो बुस्केट्सदेखि लिएर रोड्रिगो डे पउलसम्मका खेलाडीहरू पनि जोडिएका छन्। यद्यपि उनीहरूमध्ये केहीको सम्झौता नवीकरणबारे क्लबले अहिलेसम्म निर्णय गरेको छैन।














