६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं। ६ वर्षअघि भुवनेश्वरको कलिङ्ग स्टेडियममा भएको एउटा खेल नेपाली महिला फुटबलका लागि इतिहास बन्यो। हिरो गोल्ड कप २०१९ मा नेपालले शक्तिशाली राष्ट्र इरानलाई ३–० ले हराएको थियो। त्यो अझै पनि नेपाली खेलप्रेमीको सम्झनामा ताजै छ।
उक्त खेलको ४१औं मिनेटमा अनिता बस्नेतले खाता खोलेकी थिइन्। त्यसपछि सवित्रा भण्डारी ‘साम्बा’ले ७९औं र ८९औं मिनेटमा लगातार दुई गोल गर्दै ३–० को जित पक्का गरेकी थिइन्। त्यो टोलीमा रहेका सवित्रा, अनितासहित सरु लिम्बू, हीराकुमारी भुजेल र अञ्जिला तुम्बाप्पो सुब्बाले अहिले पनि निरन्तरता पाइरहेका छन्।
यो जित निस्किएको ठ्याक्कै ६ वर्षपछि नेपाल फेरि इरानसँग आमनेसामने हुँदैछ। यसपटक शिलोङको जवाहरलाल नेहरू स्टेडियममा त्रिदेशीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन्।
पहिलो खेलमा इरानले भारतलाई २–० ले हराउँदै आत्मविश्वास बढाइसकेको छ। त्यसैले नेपालका लागि यो खेल सजिलो हुने छैन। तर, अर्को पाटोमा, नयाँ मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा नेपाली टिमले नयाँ अध्याय सुरु गर्न लागेको छ। उनी भन्छन्,‘इरान र भारतको खेल हेरेको थियौं। इरान एक कम्फर्ट जोनमा गइसक्यो। यो एक फ्रेन्डली खेल भन्दा पनि उपाधि लिएर जाने योजना छ। त्यसैले जित्ने लक्ष्य नै छ।’
युवा र अनुभवी खेलाडीको मिश्रण रहेको टोलीले शुक्रबारको खेल जितेमा उपाधि जित्ने सम्भवना उच्च हुन्छ। हारेमा इरान नै च्याम्पियन बन्ने छ। त्यसैले न्यौपाने २०१९ को गौरवमय लय दोहोर्याउने योजनामा देखिन्छन्। तर, इरानले पनि बदला लिने तयारीमा हुनेछ।












