मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

काठमाडौं। फुटबलका दुई युग, दुई पीढी र दुई शैलीबीचको संगम थियो त्यो क्षण जब लिओनल मेसी र किलियन एमबाप्पे एउटै जर्सीमा मैदान ओर्लिए। अब त्यो समय सम्झिँदा फ्रान्सेली कप्तान एमबाप्पे भावुक बन्छन्।
फ्रान्सेली कार्यक्रम ‘टेलिफुट’ मा बोल्दै उनले भने,‘म वास्तवमै भाग्यशाली थिएँ, मेसीसँग खेल्ने मौका पाएँ। उनीसँग एउटै टोलीमा खेल्छु भनेर मैले कहिल्यै सोचेकै थिइन्। मेरो सपना सधैं रियल मड्रिड जाने थियो, बार्सिलोनाको होइन। तर, उनी पिएसजी आउँदा सबै कुरा स्वाभाविक लाग्यो।’
सन् २०२१ मा बार्सिलोनासँगको दुई दशक लामो सहयात्रा टुंग्याउँदै अर्जेन्टिनी कप्तान मेसी पेरिस सेन्ट–जर्मेन (पीएसजी) पुगेका थिए। त्यतिबेलासम्म एमबाप्पे फ्रान्सेली फुटबलका चम्किला स्टार भइसकेका थिए।
दुई सिजनको सहयात्रामा यी दुईले लिग–१ र घरेलु उपाधि जिते। तर, युरोपको सर्वाधिक प्रतिष्ठित च्याम्पियन्स लिग भने अझै परै कै कुरा रह्यो। मेसीको जादू र एमबाप्पेको गतिको त्यो संयोजनले फुटबललाई कलात्मक बनाएको थियो। यद्यपि, च्याम्पियन्स लिग भने हात लागेन।
एमबाप्पेका शब्दमा त्यो अनुभव फुटबल होइन, एक पाठ पनि थियो। ‘मेसीजस्ता व्यक्तित्वसँग हुँदा तपाईं उनलाई खेलाडीभन्दा बढी, मानवका रूपमा बुझ्न थाल्नुहुन्छ। उनी सबैलाई सम्मान गर्छन्। उनीसँगको सहकार्यले मलाई खेल अझ गहिराइमा बुझ्न सिकायो,’ उनले थपे।
सन् २०२३ मा मेसी अमेरिकी क्लब इन्टर मियामी पुगे। उनले यही क्लबबाट नयाँ अध्याय सुरु गरे। उता एमबाप्पेले २०२४ मा रियल मड्रिडको जर्सी लगाएर आफ्नो बाल्यकालको सपना पूरा गरे।
तर, दुवैका करिअरमा एउटा साझा अध्याय रहिरह्यो– पीएसजीको त्यो छोटो तर सुनौलो समय। यसले फुटबललाई फेरि सम्झाइदियो कि महानता जितमा होइन, सहकार्यको क्षणमै लुकेको हुन्छ।