बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

काठमाडौं। बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले ग्रासरुट फुटबल (ब्रोनज श्रेणी) मा एएफसीको अवार्ड जितेको छ।
साउदी अरबमा सम्पन्न एसियाली फुटबल महासंघ (एएफसी)को वार्षिक पुरस्कार समारोहमा यो प्रतिष्ठित अवार्ड दिइएको हो।
एसियामा ग्रासरुट फुटबलको विकासमा सदस्य संघहरूले पुर्याएको असाधारण योगदानको कदरस्वरूप बंगलादेशलाई यो अवार्ड दिइएको हो। विशेषगरी युवा सहभागिता, समुदायमा फुटबल प्रवर्धन र फुटबल शिक्षा क्षेत्रमा देखाएको उत्कृष्ट कामको सम्मानमा यो अवार्ड प्रदान गरिन्छ।
एएफसी अध्यक्षको ग्रासरुट फुटबल मान्यता पुरस्कार (ब्रोनज) को श्रेणीमा तीन राष्ट्रिय संघहरू उत्कृष्ट तीनको सूचीमा परेका थिए। बंगलादेश फुटबल महासंघसँगै नर्थर्न मारियाना आइल्यान्ड्स फुटबल एसोसिएसन र भियतनाम फुटबल महासंघ पनि मनोनयनमा थिए। यसमध्ये बंगलादेशले जिल्लास्तरीय यूथ लिग, विकास परियोजना र देशव्यापी ग्रासरुट कार्यक्रमहरू मार्फत ग्रासरुट फुटबल प्रवर्धनमा निरन्तर योगदान पुर्याएको कारण शीर्ष अवार्ड प्राप्त गरेको हो।
यो बंगलादेशले एएफसीको ग्रासरुट फुटबल अवार्ड पहिलोपटक जितेको हो।