कार्लोको एउटै सपना विश्वकपको उपाधि

काठमाडौं। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी हालको नतिजामा खासै चिन्तित छैनन्। उनको ध्यान अहिले सम्पूर्ण रूपमा विश्वकपको तयारीमा केन्द्रित छ। कार्लोको एउटै सपना छ- १९ जुलाईमा मेटलाइफ स्टेडियममा विश्वकप ट्रफी ब्राजिलको तर्फबाट उचाल्ने।
जापानविरुद्धको खेलमा हार बेहोरेपछि रियो फर्किएर एक अन्तर्वार्तामा कर्लोले आफ्ना लक्ष्य र सोच खुलस्त बताएका हुन्। उनले भने,‘ब्राजिल फुटबलमा हारको ठाउँ छैन। विश्वकप सुरु हुनु अघि हामी पूर्ण रूपमा तयार हुनेछौं भन्नेमा म समर्थकहरूलाई वाचा गर्छु। हामी त्यहाँ ट्रफी जित्नका लागि नै जानेछौं। यही मेरो एक मात्र सपना हो।’
ब्राजिल फुटबलको नाम आउँदा नै पेल्ल, रोनाल्डो, रोनाल्डिन्हो, काका र नेयमारजस्ता महान् खेलाडीका नाम आउने गर्छ। तर, २००२ को जापान–दक्षिण कोरिया विश्वकपपछि ब्राजिलले फेरि त्यो जादू दोहोर्याउन सकेको छैन। कप्तान काफुले त्यो ट्रफी उचालेपछिका २३ वर्षमा ब्राजिलले फाइनलसमेत खेल्न सकेको छैन।
यसबीच इतिहासमै पहिलोपटक ब्राजिलले टोलीको जिम्मा विदेशी प्रशिक्षकलाई दिएको छ। तर, कार्लोको आगमनले पनि टोलीमा तुरुन्तै परिवर्तन ल्याएको छैन। उनको नेतृत्वमा अहिलेसम्म ब्राजिलले तीन खेल जितेको छ। एक बराबरी गरेको छ भने अन्य दुई खेलमा हार बेहोरेको छ।
पछिल्लो हार जापानविरुद्धको ३–० को थियो। यो नतिजाले धेरैलाई निराश बनाएको थियो। तर, कार्लोका अनुसार मैत्रीपूर्ण खेलका नतिजाले उनलाई असर पार्ने गरेको छैन। उनले भने,‘हामी अहिले प्रयोग र तयारीको चरणमा छौं। हाम्रो वास्तविक लक्ष्य विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हो।’
स्पेनिस क्लब रियल मड्रिडका पूर्वप्रशिक्षक कार्लो अहिले आफ्नो करिअरको अर्को ठूलो जिम्मेवारीमा छन्। उनले भने,‘ब्राजिलजस्तो टोलीको प्रशिक्षक बन्नु मेरो जीवनको सपना थियो। सिबिएफले दिएको अवसर असाधारण हो। अब त्यो विश्वासको प्रतिफल दिने समय आएको छ। म ब्राजिललाई विश्वकप ट्रफी दिलाउन चाहन्छु।’
यसपटकको विश्वकपमा ३२ होइन, ४८ टोली सहभागी हुनेछन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यस संस्करणमा फिफाले विश्व फुटबललाई अझ फराकिलो बनाउने उद्देश्य लिएको छ।
विश्वकप फुटबलको सबैभन्दा ठूलो महोत्सव हो। यसमा धेरै टोलीहरू खेल्दा प्रतिस्पर्धा र रुचि दुवै बढ्ने उनी बताउँछन्। भन्छन्,‘फुटबलको दायरा फराकिलो हुँदै जाँदा त्यो खेलको लागि सकारात्मक हो।’
अन्तर्राष्ट्रिय ब्रेकअघि अहिले कार्लोलाई केही समयको विश्राम मिलेको छ। तर, उनी त्यसलाई आरामको समयका रूपमा होइन, तयारीको अवसरका रूपमा हेर्दैछन्। उनले विश्वकपका भेन्युहरू निरीक्षण गर्ने र टोलीको प्रशिक्षण रणनीति तय गर्ने तयारी गरिरहेका छन्।