मणिले भुटानी क्लब पारोबाट खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मणिकुमार लामा भुटानको शीर्ष क्लब पारो एफसीबाट खेल्ने भएका छन्। पारोले उनलाई आगामी एएफसी च्यालेन्ज लिगका लागि अनुबन्ध गरेको हो। लामा शुक्रबार नै भुटान प्रस्थान गर्दैछन्।
भुटानको शीर्ष डिभिजन च्याम्पियन पारो एफसी समूह ‘ए’ मा रहेको छ। यस समूहमा सात पटकको घरेलु च्याम्पियन अल्टिन असिर एफसी (तुर्कमेनिस्तान), अल–सबहा क्लब (ओमान) र एफसी अब्दिश–अता (किर्गिस्तान) समेत छन्। प्रतियोगिताका खेलहरू अक्टोबर २५ देखि ३१ सम्म भुटानमै हुनेछन्।
पारो एफसीमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व टेक्निकल एनालिस्ट नसीम सुल्तान र एलसनराज अधिकारी पनि कार्यरत छन्। यी दुईले लामालाई नयाँ परिवेशमा सहज बन्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
लामाको खेल यात्रा निकै रोचक छ। उनले आफ्नो खेल जीवनको सुरुआत टेबलटेनिसबाट गरेका थिए। १४ वर्षको उमेरमा उनले सन् २०१० मा जुनियर राष्ट्रिय टेबलटेनिस टोलीमा स्थान बनाएका थिए।
दुई वर्षपछि सन् २०१२ मा उनले दक्षिण एसियाली च्याम्पियनसिपमा नेपालका लागि दुई रजत पदक जिते। त्यसपछि उनले विश्वकप जुनियर क्याडेट र युथ एशियन गेम्स (२०१३) मा सहभागिता जनाए।
सन् २०१६ मा उनले आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबका तर्फबाट पुरुष सिंगल्समा कास्य पदक जिते। त्यसपछि उनले फुटसलतर्फ ध्यान केन्द्रित गरेका हुन्।
लामाले २०१९ र २०२२ मा भएका एएफसी फुटसल एसियन कप क्वालिफायरमा नेपालका लागि खेलेका थिए। उनले चार वर्षको अवधिमा ९ खेलमा तीन गोल गरेका थिए।
२०१९ मा लामाले विभागीय टोली एपीएफ क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका थिए। २०२१ मा उनले क्लबका लागि आहा! गोल्ड कप र विराट गोल्ड कप जित्न महत्त्वपूर्ण भूमिका खेले।
२०२३ को ए डिभिजन लिगका पहिलो पाँच खेलमा उनले दुई गोल गरे र एक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए। सोही प्रदर्शनका आधारमा उनलाई राष्ट्रिय टोलीमा बोलाइएको थियो।
२२ मार्च २०२३ मा लामाले पहिलोपटक नेपालको राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेका थिए। प्रधानमन्त्री त्रिदेशीय कपमा लाओसविरुद्धको खेलको ७३औं मिनेटमा उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका हुन्।
उनले नेपाल सुपर लिग (एनएसएल)मा बुटबल लुम्बिनी एफसीबाट खेलिसकेका छन्। यस्तै, गत संस्करण ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
अब लामा अन्तर्राष्ट्रिय क्लब स्तरमा आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्दैछन्।