वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु
-1760532013628.png&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई स्पष्टीकरण सोधेका छन्। एन्फालाई बदनाम गराएको भन्दै उनले बुधबार राईलाई स्पष्टीकरण सोधेका हुन्।
अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको कार्यक्रममा रहेको हुँदा वरिष्ठ उपाध्यक्षको हैसियतमा उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। सोही हैसियतले राईलाई स्पष्टीकरण सोधेका छन्। खड्काले राईलाई विभिन्न आरोपमा ‘किन कारवाही नगर्ने?’ भन्ने विषयमा ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्।
‘एन्फा कार्यसमितिलाई जानकारी समेत नगराई होम एन्ड अवे लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले सिंगो नेपाली फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवालाहरु र अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम हुने गरी सार्वजनिक भएको धारणाका कारण समग्र एन्फालाई बदनाम बनाएको छ। यस्ता गतिविधिले संस्थाको गरिमामा आँच आउनुका साथै खेलाडीहरू प्रत्यक्ष मारमा पर्दछन्। तसर्थ, संस्थाको जिम्मेवार पदमा बसी संस्थाकै बदनाम गराउने, संस्थाको मूल मर्म विपरीत खेलाडीको भावनामाथि आघात पुर्याउने र एन्फाको सर्वोच्च निकायको निर्णयलाई समेत एकतर्फी रूपमा परिमार्जन गरी संस्थालाई दुर्घटनातर्फ लैजाने जस्तो गम्भीर अपराधजन्य कार्य गर्नुभएको हुँदा, तपाईंलाई किन कारबाही नगर्ने भन्ने सम्बन्धमा आजका मितिले ३ (तीन) दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछु,’ पत्रमा उनले भनेका छन्।
तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभएमा संस्थाको नियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले चेतावनी दिएका छन्।
गत वैशाख २६ गते धुलिखेलमा सम्पन्न नियमित वार्षिक साधारण सभाले पुस १ गतेबाट ‘ए’ डिभिजन लिग गर्ने भन्दै १० करोड ४६ लाख २२ हाजर २६५ रुपैयाँ ९८ पैसा) बजेट स्वीकृत गरेको थियो। तर, बुधबार राईले पत्रकारलाई बोलाउँदै लिग हुन नसक्ने जानकारी दिएका थिए।