रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

काठमाडौं। उमेरलाई चुनौती दिँदै नयाँ इतिहास रचेका छन्,क्रिस्टियानो रोनाल्डोले। हंगेरीविरुद्ध दुई गोल गर्दै उनी फिफा विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्।
मंगलबार भएको खेलमा उनका दुई गोलको मद्दतमा पोर्चुगलले हंगेरीसँग २–२ को बराबरी खेलेको थियो। यदि अन्तिम क्षणमा गोल खाएको थिएन भने पोर्चुगलले त्यही दिन युरोपबाट २०२६ विश्वकपको टिकट सुनिश्चित गर्न सक्थ्यो।
लगातार तीन जितपछि पोर्चुगलले पहिलोपल्ट अंक गुमाएको हो। खेलको आठौं मिनेटमै हंगेरीका डिफेन्डर एटिला सालाईले घरेलु दर्शकलाई उत्साहित पार्दै अग्रता दिलाए।
डोमिनिक सोबोसलाइको पासबाट उनले पोर्चुगलको जाली चुमाए। तर, त्यो खुशी धेरैबेर टिकेन। केही मिनेटपछि नेल्सन सेमेडोको पासमा रोनाल्डोले गोल गर्दै इतिहास रचे। ४१ वर्षनजिक पुगेका यी स्टारले यसअघि ग्वाटेमालाका कार्लोस रुइजसँगको विश्वकप छनोटका सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका थिए। अब उनी एक्लै शीर्ष स्थानमा पुगेका छन्।
रुइजको ४७ खेलमा ३९ गोल थिए। रोनाल्डोले यो कीर्तिमान तोड्दै ४१ गोलमा पुर्याए। पहिलो हाफको इन्जुरी टाइममा उनले अर्को गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। यससँगै उनको अन्तर्राष्ट्रिय फुटबलका गोल संख्या १४३ पुगेको छ। व्यवसायिक करिअरमा उनले ९४८ गोल पुर्याएका छन्।
तर, खेलको अन्तिम समयमा पोर्चुगलको जित र विश्वकप टिकट दुवैबाट चिप्लियो। इन्जुरी टाइममा सोबोसलाइले लुकाक्सको पासमा गोल गर्दै हंगेरीलाई बराबरीमा ल्याए। त्यससँगै पोर्चुगललाई अझै विश्वकप सुनिश्चित गर्न कम्तीमा अर्को खेलमा जित आवश्यक छ।
४ खेलपछि १० अंकसहित पोर्चुगल समूह ‘एफ’ समूहको शीर्ष स्थानमा छ। ५ अंकसहित हंगेरी दोस्रो, ४ अंकसहित आयरल्यान्ड तेस्रो र ३ अंकसहित आर्मेनिया अन्तिम स्थानमा छ।