काठमाडौं । चौथों संस्करणको रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता (रामेछाप सिभलि च्याम्पियनसिप) मंगलबारबाट सुरु हुने भएको छ ।
आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।
सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गर्ने समितीका अध्यक्ष पुरुषोतम कडरीयाले जानकारी गराए । प्रतियोगितामा विभागीय टिमले भने सहभागिता जनाउन पाउने छैन् । तर, हरेक टिमले विभागीय टिमका ३ खेलाडी टोलीमा राख्न सक्ने छन् ।
अन्य प्रतियोगिता भन्दा फरक गर्ने उदेश्यले विभागीय टिम नराखेको अध्यक्ष कडरीयाले जानकारी गराए ।
'बिगत ४ वर्षबाट विशेष प्राथमिकताका साथ प्रतियोगिता गरिरहेका छौ । अन्य प्रतियोगिता भन्दा फरक गर्ने सोच हो । त्यसैले विभागीय टिम राखेका छैनौ । सिभिल टिम बनाएका छौं,' अध्यक्ष कडरीयाले भने ।
प्रतियोगितामा प्रदेश १,२,३,५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहने छ । यस्तै शान्तिदिप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुना दिप युवा क्लब र प्याराडाइज युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर,डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०/१० हजार नगद पाउने छन् ।
प्रतियोगितामा ३ विदेशी खेलाडी समेत राख्न पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोर्ने छ । खेलाडीले दैनिक १२ सय भत्ता पाउने छ ।