डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने

काठमाडौं। एञ्जल डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने घोषणा गरेका छन्।
बेनफिकाले शनिबार ब्रागासँग १–१ को बराबरी खेलेको थियो। योसँगै स्पोर्टिङभन्दा बेनिफिकाले दुई अंकले पछि पर्दै लिगा पोर्चुगलमा उपविजेता हुँदै सिजन टुंग्यायो।
३७ वर्षीय डि मारियाले अर्जेन्टिनाबाट १४५ खेल खेलेपछि गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए। उनले पाँच वर्ष दुईपटक बेनफिकाका लागि खेलेका छन्।
सन् २०२३ मा क्लबमा पुनः फर्किनुअघि उनी रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट–जर्मेन र युभेन्ट्सजस्ता क्लबमा खेलिसकेका थिए।
‘यति लामो सिजनपछि यस्तो अन्त्य हुनु निकै दुखद हो। मेरो यो जर्सीसँग अन्तिम लिग खेल थियो र पुनः यसलाई लगाउन पाउँदा गर्व लागेको छ,’ डि मारियाले इन्स्टाग्राममा लेखे।
उनी थप लेख्छन्,‘आइतबार हामीसँग अझै एउटा फाइनल खेल बाँकी छ र हामी त्यो जित्न पूरै जोश र खुसीका साथ मैदानमा उत्रनेछौं। समर्थनका लागि धन्यवाद, बेनफिका समर्थक।’
बेनफिकाले मे २५ मा पोर्चुगिज कपको फाइनल स्पोर्टिङविरुद्ध खेल्नेछ। त्यसपछि क्लब विश्वकपमा जुन १६ बाट सहभागी हुनेछ।
डि मारियाको सम्झौता जुन ३० सम्म कायम छ। उनले क्लब विश्वकपमा खेल्ने वा नखेल्नेबारे भने केही खुलाएका छैनन्।












-1763309767672.webp&w=3840&q=75)
