अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन्।
अञ्जिला ग्रीस र साम्बा फ्रान्समा व्यावसायिक लिग खेलिहरेका छन्। त्यसैले यी दुई खेलाडी थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि बन्द प्रशिक्षणमा नबस्ने भएका हुन्।
‘अञ्जिला र साम्बा सिधै बैंकक आउँछन्। बिहीबारबाट मात्रै क्लबले खेलाडीलाई फुकुवा गर्छन्। त्यसैले यी दुई नेपाल आउँदैनन् होला,’ मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्।
अञ्जिला निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन्। यता, साम्बासम्मिलित अभान्ट ग्वेन्ग्याम्प डिभिजन वानमा रेलिगेसनमा परेको छ।
साम्बा २०८० माघमा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब अभान्ट ग्वेन्ग्याम्प मा अनुबन्ध भएकी थिइन्। दुई सिजन खेल्दा उनको क्लब अघिल्लो संस्करण २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो।
यसपल्ट भने ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको थियो। ग्वेन्ग्याम्प ९ अंकसहित पुछारमा रह्यो। साम्बाले ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश छ। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइराख्न सकेन।
यी दुईबाहेक स्टाइकर रेखा पौडेल र डिफेन्डर पूजा राना पनि व्यावसायिक फुटबल खेल्दा विदेशमा छन्। रेखाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी कन्ट्री क्लबबाट फुटबल खेल्दै आएकी छन्।
पूजा भने यसै संस्करणको भुटान राष्ट्रिय महिला लिग खेल्न ट्रान्सपर्ट युनाइटेड एफसीमा अनुबन्ध भएकी छन्। उनले डेब्यु खेलमै गोल गरेकी थिइन्।
यी दुई खेलाडी भने सिधै नेपाल आउने राजेन्द्रले बताए।












-1763309767672.webp&w=3840&q=75)
