५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि

काठमाडौं। बोलोग्नाले ५१ वर्षपछि कुनै ठूलो उपाधि जित्न सफल भएको छ। बुधबार राति रोममा भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दै बोलोग्नाले सन् १९७४ पछि पहिलो पटक इटालियन कप उठाएको हो।
चोटबाट फर्किएका ड्यान एनडोएले खेलको निर्णायक गोल गर्दै बोलोग्नालाई उपाधि दिलाएका हुन्। क्यानाडेली व्यवसायी जोइ सपुटोको स्वामित्वमा रहेको क्लबले यसबीचमा दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन।
यो उपाधि प्रशिक्षक भिन्चेन्जो इटालियानोको लागि पनि विशेष रह्यो। उनले यसअघि फिओरेन्टिनासँग लगातार दुई युरोपा कन्फ्रेन्स लिग फाइनल र सन् २०२३ को इटालियन कप फाइनल गुमाएका थिए।
‘ती तीनवटै हार पीडादायक थिए। मैले तुरुन्तै फर्केर यसरी जित्न सकिन्छ भन्ने कल्पना गरेको थिइनँ। तर, हामी सफल भयौं र म अत्यन्त खुसी छु,’ इटालियानोले मेडियासेटसँग भने,‘मैले मेरो करिअरमा एक महत्त्वपूर्ण ट्रफी थपेको छु। यो जित म मेरो खेलाडीहरूलाई समर्पण गर्न चाहन्छु। उनीहरूले असाधारण प्रदर्शन गरे।’
खेलको अन्तिम सिठ्ठीसँगै इटालियानोलाई आफ्ना खेलाडीले उचालेर खुसीयाली मनाएका थिए। थुप्रै खेलाडी र समर्थकहरूको आँखा खुसीको आँसुले भरिएको देखिन्थ्यो।
४७ वर्षीय प्रशिक्षक उत्सवमा रमाउन आतुर देखिन्थे। अन्तिम अन्तर्वार्ता सकिनेबित्तिकै उनले भने,‘अब मलाई जान दिनुस्, किनभने यो साँच्चै अविश्वसनीय छ।’
इटालियानो बोलोग्नाका लागि पहिलो सिजनमै सफल भएका हुन्। उनले थिएगो मोट्टाको स्थान लिएका थिए। थिएगोले क्लबलाई इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा छनोट गराएका थिए। तर, युभेन्ट्सले उनलाई सुरुमै बर्खास्त गरिसकेको छ।
यो उपाधि जितसँगै बोलोग्नाले आगामी सिजन युरोपा लिगमा स्थान सुरक्षित गरेको छ। यता, मिलान युरोपेली प्रतिस्पर्धाबाट बाहिरिने स्थितिमा पुगेको छ। सिरी ‘ए’ मा आठौं स्थानमा रहेको मिलानको निराशाजनक सिजनपछि प्रशिक्षक सर्जियो कोन्सेइसाओको पद गुम्ने सम्भावना बढेको छ।










-1763385934768.jpeg&w=3840&q=75)


