आदिलको प्रतिबन्ध फुकुवा

काठमाडौं। अलराउन्डर मोहमद आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन्।
योसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने भएका छन्। २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो।
नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए। त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो।
उनले खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए। उनले लिगको कम्तीमा दुई खेलमा सोही प्रकारले खेलेको आरोप केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को थियो।
१७ वर्ष राष्ट्रिय टोलीबाट खेलेका महबुब आलमले दुई नेपाली खेलाडीमाथि स्पट फिक्सिङ गर्न प्रस्ताव गरेको आरोप सिआईबीले लगाएको थियो। नेपाल टी–२० लिग सकिएको दुई सातापछि महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
नेपाल टी–२० लिगमा नवीन काठमाडौं किंग्सका मालिक थिए। नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) को कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोटर्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई प्रतियोगिताको बीचैबाट भारत फरार भएका थिए।
यी दुई जना फरार भए पछि नै फिक्सिङको कुरा बाहिरिएको थियो। आदिलले फिक्सिङको प्रस्ताव आएको स्वीकार गरे पनि पैसा भने नलिएको बताएका थिए। यद्यपि, काठमाडौं जिल्ला अदालतले चैत १३ गते न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासबाट अभियोग दाबी नपुग्ने फैसला भएको थियो।
योसँगै यी दुईसहित नितेश गुप्ता, नवीन कँडेल र रवि माझीलाई सफाइ दिएको थियो। नितेश, महबुब र आदिललाई सिआईबीले पक्राउ गरेको थियो। उनीहरू अदालतबाट धरौटीमा छुटेका थिए भने नवीन र रवि फरार भएका थिए।
तर, आदिलमाथि भने प्रतिबन्ध कायम रह्यो। कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएपछि उनी भारतको विहारमा टेनिस क्रिकेट खेलिरहेका थिए। यद्यपि, उनीमाथिको उक्त प्रतिबन्ध आइतबारदेखि नै फुकुवा भएको क्यान प्रवक्ता लामाको भनाइ छ।
















