काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राजधानीमा जारी १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बिहिबार भएको खेलमा एपीएफले चितवन टाईग्रेस र श्री गाउँलाई हराएर दोहोरो जित निकालेको हो । एपीएफले पहिलो खेलमा चितवनलाई २५–७, २५–१३ र २५–१८ को सेटमा हरायो ।
दोस्रो खेलमा एपीएफले श्रीगाँउलाई २५–६, २५–११ र २५–१९ को सेटमा पाखा लगायो । बिहिबार दोहोरो जित निकालेसंगै एपीएफले शीर्ष स्थान यथावत राख्न सफल भएको छ । एपीएफले ३० अंक जोडेको छ ।
यस्तै नेपाल पुलिस क्लबले सेब स्कुललाई २५–१८, २५–१७ र २५–१७ को सेटमा हराएको छ । जितसंगै दोस्रो स्थानको पुलिसले २७ अंक जोडेको छ ।
अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले चितवनलाई २५–११, २५–१५ र २५–११ को सेटमा हरायो । जितपछि तेस्रो स्थानको आर्मीले २४ अंक जोडेको छ।
बिहिबार भएको अन्तिम खेलमा पश्चिमाञ्चलले चिवनलाई नै २५–१३, २५–१६ र २५–१७ को सेटमा हराएको छ ।