काठमाडौं । तेस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले प्रायोजन गरेको छ ।
आगामी वर्षको पुस अन्तिम साता आयोजना हुने प्रतियोगितालाई समाजले दोस्रो पटक प्रायोजन गरेको हो । समाज र न्यु डायमण्डबीच बुधबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । समाज नेपाल प्रमुख सोनाम वादी भुटिया र न्यु डायमण्ड क्लबका अध्यक्ष सुन केशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै समाजले तेस्रो संस्करणको प्रतियोगितालाई १५ लाख नगद उपलब्ध गराउने छ । जसमा विजेता र उपविजेताले पाउने ७ लाख २ हजार नगद पुरस्कार, ३ लाख बराबरको खेल पोशाक र ५ लाख विविध खर्चको रुपमा रहेको छ ।
सम्झौतापछि न्यु डायमण्डले विभिन्न प्रतियोगितामा 'होङ वान्जी न्यु डायमण्ड' नामबाट सहभागिता जनाउने छन् । यसअघि समाजले गत महिना सम्पन्न दोस्रो संस्करणको प्रतियोगितालाई ५ लाख बराबरको प्रायोजन गरेको थियो ।
तेस्रो संस्करणको विजेताले ४ लाख १ हजार, दोस्रोले ३ लाख १ हजार र तेस्रोले २ लाख १ हजार नगद पुरस्कार पाउनेछन् । चौथो हुनेले १ लाख १ हजार पाउने छन् ।
यस्तै सर्वोकृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही ७-७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।