काठमाडौं । विभागीय टिम एपीएफ क्लब राजधानीमा जारी १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा मंगलबार पश्चिमाञ्चल भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । एपीएफले पश्चिमाञ्चललाई २५-१७,२५-१८ र २५-२१ को सेटमा पाखा लगायो ।
जितसंगै पहिलो चरणको खेल सकिदा एपीएफले २४ अंक जोडेको छ । मंगलबार नै तय भएको एपीएफ र चितवन टाइग्रेसबीचको खेल भने वर्षाको कारण स्थगित भएको छ ।
लिग अन्तर्गत मंगलबारबाट दोस्रो चरणको खेलहरु सुरु भएको छ । दोस्रो चरणको पहिलो खेलमा पुलिस क्लबले चितवन टाइग्रेसलाई २५-६,२५-२१ र २५-१३ को सेटमा पाखा लगायो । जितसंगै पुलिसले २४ अंक जोडेको छ । र, पुलिस दोस्रो स्थानमा रहेको छ ।
यस्तै त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई २५-२२,२५-२१ र २५-१० को सेटमा हरायो । जितसंगै आर्मीले २१ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा छ ।
लिग अन्तर्गत कै अन्तिम खेलमा पश्चिमाञ्चलले श्री गाउँलाई २५-१३,२५-१४ र २५-९ को सेटमा पाखा लगायो । पश्चिमाञ्चल १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
लिगमा सेबको ११ अंक, श्री गाउँको १० तथा चितवनको ८ अंक रहेको छ ।