बेलिङ्घामलाई सिधै रातो कार्ड

काठमाडौं। रेफ्रीलाई अनुचित शब्द प्रयोग गरेको आरोपमा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङ्घामलाई सिधै रातो कार्ड देखाइएको छ।
शनिबारको ला लिगा खेलमा लिग लिडर रियलले ओसासुनाविरुद्ध १–१ को बराबरी खेलेको थियो। रियल ५१ अंकसहित शीर्ष स्थानमा छ।
एट्लेटिको ५० अंकमा दोस्रो स्थानमा भने एक खेल कम खेलेको बार्सिलोना ४८ अंकसहित तेस्रो स्थानमा छ। बार्सिलोनाले सोमबार रायो भालेकानोको सामना गर्नेछ।
४०औं मिनेटमा बेलिङ्घामले रेफ्री होसे लुइस मुनेरासँग असन्तोषजनक प्रतिक्रिया दिँदै हातले इसारा गरेका थिए। त्यसपछि उनलाई रातो कार्ड देखाइएको थियो। रेफ्री र बेलिङ्घामबीच केही भनाभा भएको थियो। त्यसपछि मुनेराले उनलाई मैदान बाहिर पठाए।
त्यसअघि रियलका प्रशिक्षक कार्लो एन्लोट्टीले ओसासुनाका डिफेन्डरको सम्भावित ह्यान्डबललाई पेनाल्टी नदिएकोमा असन्तोष जनाएका थिए। लगत्तै मुनेराले पहेंलो कार्ड दिएका थिए।
किलियन एमबाप्पेले गरेको गोलसँगै रियलले सुरुआती अग्रता लिएको थियो। तर, ५८औं मिनेटमा आन्टे बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
दुई खेलअघि स्पान्योलसँग रियल पराजय भएको थियो। उक्त खेलमा खराब रेफ्रिङ भएको भन्दै रियलले ला लिगासमक्ष गम्भीर गुनासो गरेको थियो।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


