काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किएकी छन्।
व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी रेखा एयर अरेबियाको फ्लाइटबाट दिउँसो काठमाडौं आइपुगेकी हुन्। उनी आवुधावी काउन्ट्री खेलिरहेकी थिइन्।
नेपाललाई छैटौंपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउन उनले सात गोल गरेकी थिइन्। तर, सेमिफाइनलमा भारतविरुद्ध दोहोरो पहेंलोसहित रातो कार्ड बेहोर्दा उनले फाइनल भने गुमाएकी थिइन्।
एन्फा एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गराउन लागेको हो।
फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउने छ।
नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ।