काठमाडौं। नेपाली युवा टोलीले शनिबार मैत्रीपूर्ण खेलमा चीनको युनान युथ फुटबल टोलीसामु चुनौती प्रस्तुत गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टोली भिड्न लागेका हुन्। यो खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाल र युनानको टोली एकआपसमा भिड्न लागेका हुन्। गत वर्ष पनि चीनको टोलीले नेपाली युवा टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपालले ५–१ को फराकिलो जित निकालेको थियो।
यसपल्ट सोही लय दोहोर्याउने लक्ष्य रहेको नेपाली युवा टोलीका मुख्य प्रशिक्षक राजेश शाहीले बताए। उनका अनुसार टोलीले युनानीविरुद्ध आक्रामक फुटबल पुस्किने छ।
‘नेपालले जहिल्यै पनि आफूभन्दा ठूला टिमसँग खेल्दा डिफेन्सिभ खेल्छ। तर, हामी यसपल्ट आक्रामक फुटबल खेल्छौं,’ खेलअघि उनले भने।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपल्ट ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै अन्तिम २३ सदस्सीय टोली घोषणा गरेको हो। टोलीको कप्तानी यसपल्ट सीमान्त थापाले पाएका छन्। उनले यसअघि श्रीलंकामा सन् २०२२ मा भएको यु–१७ साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गरिसकेका छन्।
त्यतिखेर उनले नियमित कप्तान प्रशान्त लक्षमको अनुपस्थितिमा कप्तानी जिम्मेवारी बहन गरेका थिए। उनीसँग गत वर्ष घरेलु मैदानमै भएको यु–२० साफ च्याम्पियनसिप र चाइनिज ताइपेइमा भएको एएफसी यु–२० कप छनोट खेलिसकेको अनुभव छ।
आफ्नो कप्तानीमा खेल्न नेपाली टोली तयार रहेको उनले बताए। ‘राम्रो तयारी गरेका छौं। हामी युनानविरुद्ध जित्नका लागि नै खेल्ने छौं। किनभने यो खेलले नै हामीलाई राष्ट्रिय टोलीसम्म पुर्याउँछ,’ उनले भने।