इलाम। सुनसरीको धरानमा जारी कोशी प्रदेश लिगमा इलाम लिग च्याम्पियन रेडहर्स फुटबल क्लब बाहिरिएको छ।
धरान रंगशालामा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा झापा लिग च्याम्पियन धाइजन, चारालीसँग २–२ गोलको बराबरी खेले पनि सुपर फोरमा प्रवेश गर्न असफल रह्यो।
पहिलो हाफमा २–० ले पछि परेको रेडहर्सले दोस्रो हाफमा पुनरागमन गर्दै खेल बराबरी गरेको हो। खेलको २७औं मिनेटमा सागर रसाइलीले झापालाई सुरुआती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि पूजन थापाले अग्रता दोब्बर बनाए।
२–० ले परेको अवस्था इलाम दोस्रो हाफमा नतिजा उल्ट्याउन सफल रह्यो। ४८औं मिनेटमा साङ्गे शेर्पाले गोल गर्दै खेल २–१ मा ल्याए। ५९औं मिनेटमा विनोद धमलाले बराबरी गोल गरेसँगै रेडहर्सले एक अंक बटुल्दै समूहको अन्तिम स्थानमा रह्यो।
खेलको ‘म्यान अफ द म्याच’ इलामका विनोद घोषित भए र पाँच हजार प्राप्त गरे।
‘प्रोटेस्ट’का कारण झापा बाहिरियो
बराबरी नतिजाले झापासमेत अन्तिम चारमा प्रवेश गर्न सकेन। पाँचथर जिल्ला लिग खेलेको खेलाडी खेलाएका कारण ‘प्रोटेस्ट’ परेपछि झापा प्रतियोगिताबाट बाहिरिएको छ। झापाले देउराली एफसीविरुद्ध निकालेको ३–० को जित उल्टिएको छ। देउरालीले दुई खेलबाट ६ अंक बटुलेको छ।
‘प्रोटेस्ट’ पछि झापाको दुई खेलबाट एक अंक भएको थियो। झापासँग समान अंक भए पनि गोलअन्तरका आधारमा इलाम अन्तिम स्थानमा रहेको हो।
लिग चरणको खेलपछि समूह ‘ए’ बाट पाँचथर युनाइटेड, समूह ‘बी’ बाट गाईघाट फुटबल क्लब उदयपुर, समूह ‘सी’ बाट देउराली युवा क्लब धनकुटा र समूह ‘डी’ बाट बुइपा एघार फुटबल क्लब खोटाङ सुपर फोरमा प्रवेश गरेका छन्। फागुन ४ गतेबाट सुपर फोरका खेल सुरु हुनेछ।