काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी एफसी चितवनको मार्की खेलाडी फरवार्ड अञ्जन विष्ट रहने भएका छन्।
चितवनले शुक्रबार उनलाई मार्की खेलाडीमा नियुक्त गरेको जानकारी दिएको हो। अघिल्लो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो। उनले नै चितवनको कप्तानी आर्मब्यान्ड लगाएका थिए।
अञ्जन भने झापा एफसीको मार्की खेलाडी थिए। उनले नै कप्तानी जिम्मेवारी सम्हालेका थिए। अञ्जनको कप्तानीमा रहेको झापाले आठ खेलमा दुई जित र चार बराबरीसहित १० अंक जोड्दै पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो। यो उसको पहिलो संस्करण थियो।
तर, समान नै अंक रहेको ललितपुर सिटी एफसीले गोल संख्यामा अघि रहँदै प्लेअफमा स्थान पक्का गर्यो। ललितपुरले नै फाइनलमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै उपाधि चुमेको थियो।
विशालको कप्तानीमा खेलेको चितवनले भने समान खेलबाट नौ अंक मात्रै जोड्यो। दुई जित र तीन बराबरी खेलेको चितवनले सातौं स्थानमा रहेर प्रतियोगिता सक्काएको थियो।
पहिलो संस्करणमा भने चितवनले ६ खेलमा दुई बराबरी खेल्दै पुछारमा रहेर लिग सक्काएको थियो। नयाँ चुनौती स्वीकार गर्दै आफू चितवनमा भित्रिएको अञ्जनले बताए।
‘चितवनमा आवद्द हुन पाउँदा निकै उत्साहित छु। नयाँ चुनौती स्वीकार गर्दै चितवनमा आएको हुँ। यो टोलीको सफलतामा योगदान दिन आतुर छु।’
चितवनले नेपाली राष्ट्रिय टोलीका पूर्वअन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।