काठमाडौं। चेल्सीका मुख्य स्ट्राइकर निकोलस ज्याक्सन दुई महिना मैदान बाहिर रहने भएका छन्।
क्लबका प्रशिक्षक एन्जो मारेस्काले बिहीबार ह्यामस्ट्रिङ चोटका कारण उनी बाहिर रहने जानकारी दिएका हुन्।
मारेस्काका अनुसार ज्याक्सनको सम्भावित स्थानापूर्ति मार्क गुइउ पनि ह्यामस्ट्रिङ चोटकै कारण केही समय खेल्न नसक्ने भएका छन्। त्यसैले चेल्सीको अग्रपंक्तिमा क्रिस्टोफर एन्कुनकु प्रमुख खेलाडी बन्ने सम्भावना छ।
ज्याक्सन फेब्रुअरी ३ मा वेस्ट ह्यामविरुद्धको खेलमा (२–१ को जित) दोस्रो हाफको सुरुमा नै प्रतिस्थापित भएका थिए।
‘हामीलाई उनको चोट मांसपेशी सम्बन्धित हुनसक्ने लागेको थियो, तर त्यति गम्भीर होला भन्ने थाहा थिएन,’ मारेस्काले भने, ‘उनको प्रतिक्रिया राम्रो देखिएकोले चोट सानो होला जस्तो लागेको थियो। तर, केही दिनअघि गरिएको स्क्यानले गम्भीर चोट देखाएको छ। उनी करिब ६–८ हप्ता मैदान बाहिर रहनेछन्।’
चेल्सीका लागि यो चोट ठूलो झट्का हो। टोलीले यस सिजन स्ट्राइकर विकल्पको अभाव खेपिरहेको छ।