काठमाडौं । इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल शनिबार नेपाल आइपुग्ने भएकी छन् ।
व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी रेखा एयर अरेबियाको फ्लाइटबाट दिउँसो काठमाडौं आइपुग्ने बताइएको छ । उनी आवुधावी काउन्ट्री खेलिरहेकी छन् ।
नेपाललाई छैटौपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउन उनले सात गोल गरेकी थिइन्। तर, सेमिफाइनलमा भारतविरुद्ध दोहोरो पहेंलोसहित रातो कार्ड बेहोर्दा उनले फाइनल भने गुमाएकी थिइन्।
एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत फागुन ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ ।
नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।