इलाम। रेडहर्स फुटबल क्लबले बिहीबार दुई स्थानमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो। तर, दुवै स्थानमा पराजित बन्न पुग्यो।
झापाको खुदुनाबारीमा जारी लिम्बुनी ठूली स्मृति कप र प्रदेश लिगमा पराजय भोगेको हो। बुट्टाबारी झापालाई हराउँदै खुदुनाबारीमा सेमिफाइनल पुगेको रेडहर्स पराजित बन्यो। फाइनल पुग्ने रेडहर्सलाई जलथल एफसी झापा बाधक बन्यो।
जलथलले इलामलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। खेलको ३२औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट रोशन थाम्सुहाङले गरेको गोल नै निर्णायक बन्यो।
गोलकर्ता थाम्सुहाङ म्यान अफ द म्याच घोषित हुँदै तीन हजार प्राप्त गरे। धरान रंगशालामा जारी प्रदेश लिगमा धनकुटाको देउराली युथ क्लबसँग २–१ ले पराजित बन्दै महत्त्वपुर्ण तीन अंक गुमाएको छ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको १५औं मिनेटमा रेडहर्सले गोल बेहोर्न पुग्यो। धनकुटाका अमीर लिम्बूले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
दोस्रो हाफको २६औं मिनेटमा विनोद धमलाले गोल गर्दै खेल बराबरी गरेका थिए। तीन मिनेट नबित्दै रेडहर्सले बराबरी गुमाउन पुग्यो। २९औं मिनेटमा विरेन लिम्बूले गोल गर्दै धनकुटालाई महत्त्वपुर्ण तीन अंक दिलाए।
रेडहर्सले समूह चरणको अन्तिम खेलमा झापाको धाइजन चारआली एफसीसँग खेल्नेछ। धाइजन यसअघि आफ्नो पहिलो खेलमा धनकुटामाथि २–० को जितका साथ तीन अंक बटुल्दै शीर्ष स्थानमा छ।
दुई खेलबाट धनकुटाले ३ अंक बटुलेर दोश्रो स्थानमा छ। रेडहर्स पराजयसँगै अंकविहीन छ। कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरु सहभागी रहेको प्रतियोगितामा इलाम च्याम्पियन बन्दै रेडहर्सले प्रदेश लिगमा अवसर पाएको हो।