काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) को अक्सन आगामी फागुन दोस्रो साता हुने भएको छ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले बिहीबार अक्सन फागुन १० गते शनिबार हुने जानकारी दिएको हो। यसपल्टको अक्सनमा सात टोलीले मात्रै सहभागिता जनाउने छन्।
वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएको आयोजकले जनाएको छ। त्यसैले साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीलाई मात्रै अक्सनमा समेटिएको छ।
एनएसइएमका अनुसार यस वर्षको अक्सनमा ‘ए’ र ‘बी’ क्याटोगोरीका खेलाडीलाई मात्रै समेटिने छ। ‘सी’ क्याटोगोरीका खेलाडीहरूका लागि भने पछि छुट्टै ड्राफ्ट कार्यक्रम आयोजना गरिनेछ जनाइएको छ।
प्रत्येक टोलीमा कम्तीमा २२ र बढीमा २३ खेलाडी रहनेछन्। एक टोलीले ‘ए’ क्याटोगोरीबाट कम्तीमा तीन खेलाडी लिन पाउने छन्। त्यसमा कम्तीमा एक जना रिटेन्स गर्न पाउने छ। ‘बी’ बाट ६, ‘सी’ बाट चार र ‘डी’ क्याटोगोरीबाट एक खेलाडी लिन पाइने एनएसइएमले जनाएको छ।
हरेक टोलीले एक रुकी (नव आगन्तुक खेलाडी) राख्न पर्नेछ। यस्तै, ६ विदेशी तथा आइकोनिक खेलाडी राख्न पाइने छ। तर, कम्तीमा एक खेलाडी एसियाबाट हुनुपर्नेछ।
यसपल्ट गैरआवासीय नेपालीले पनि एसएसएल खेल्न पाउने छन्। तर, टोलीले ऐच्छिक रूपमा सहभागी गराउने सक्नेछन्।