काठमाडौं। वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) नखेल्ने भएका छन्।
एनएसएलको अक्सन यही १० गते हुने तय छ। तर, आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनमा वीरगञ्ज र इलामलाई भने समेटेको छैन।
पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएका थिए। तर, दोस्रो संस्करणमा भने विराटनगर सिटी एफसीले आफ्नो नाम फिर्ता लिएको थियो।
यद्यपि,एनएसइएमले इलाम, वीरगञ्ज र झापा एफसीलाई थप्दै नौ टोली पुर्याएको थियो। पहिलो संस्करणमा यी तीन टोली प्लेअफ पुग्न असफल भएका थिए।
यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिता आगामी चैतमा गर्ने तयारी गरिएको छ।