काठमाडौं। पाँचपल्टको च्याम्पियन थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ।
कास्कीको पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग थ्री स्टार ४–० ले पराजित भएको हो।
योसँगै ब्ल्याक बुल्स र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्ने पक्का भएको छ। पुलिसले पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि १–० को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।
ब्ल्याक बुल्सलाई जित दिलाउन सात्तोरोभ, कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफ जोनोभ र सइदजमोल दाभ्लातिनोभको नाममा समान एक गोल गरे।
खेलको २४औं मिनेटमै ओलिमोभको गोलमार्फत ब्ल्याक बुल्सले सुरुआती अग्रता लिएको थियो। ५८औं मिनेटमा जोनोभले अग्रता दोब्बर बनाए। ६३औं मिनेटमा सात्तोरोभले गोल गर्दै टोलीको अग्रता ३-० मा पुर्याए।
निर्धारित ९० मिनेटको खेल सकिन केही समय बाँकी रहँदा दाभ्लातिनोभले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे।