काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपरलाई बाहिर राख्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका छन्।
राजेन्द्रले बिहीबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्। तर, एपिएफलाई अपराजित राख्दै च्याम्पियन बनाएकी गोलकिपर सावित्री किशनले भने अन्तिम टोलीमा स्थान बनाउन सकिनन्।
सावित्री नै महिला लिगको उत्कृष्ट गोलरक्षक घोषित हुँदै ५० हजार रुपैयाँसमेत हात पारेकी थिइन्। उनी नेपाली उमेरसमूहबाट एपिएफसम्म पुगेकी हुन्।
मुख्य गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्वा व्यवसायीक लिग खेल्न ग्रीस प्रस्थान गरेसँगै एपिएफले १७ वर्षीया सावित्रीलाई गोल पोस्टको जिम्मेवारी सुम्पिएको थियो। उनले उक्त जिम्मेवारी सफलतापूर्वक निभाएकी थिइन्।
उनले १० खेलमा ‘क्लीन सिट’ राखेकी थिइन्। यस्तै, लिगभर जम्मा पाँच गोल मात्रै खाएकी थिइन्। तर, अन्तिम टोलीमा भने राजेन्द्रले अनुभवी गोलकिपरलाई नै निरन्तरता दिएका छन्।
यसपल्ट पनि कप्तान अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथले टोलीमा स्थान बनाएका छन्। एन्फा एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गराउन लागेको हो।
फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउने छ। नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।