काठमाडौं। ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
कास्कीको पोखरास्थित पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो।
पुलिसको जितमा सञ्जिव लामाले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो। तर, ५८औं मिनेटमा सञ्जिवले करिब ३५ यार्डबाट हाफ भली गोल गरे।
चर्च ब्वाइजका राजु भूषालले क्लियर गर्न लागेको बल आफूसमक्ष आएपछि सञ्जिवले माथिल्लो बारतर्फबाट फिनिसिङ गरे।
गत संस्करण भने यी दुई टोली क्वार्टरफाइनलमा भिडेका थिए। त्यतिखेर भने चर्च ब्वाइजले पुलिसलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।
उक्त हारको बदला पुलिसले यसपल्ट सेमिफाइनलमा लिएको छ। अब पुलिसले उपाधिका लागि थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग खेल्ने छ।
फाइनल फागुन ३ गते हुनेछ।