काठमाडौं। अमेरिकामा आयोजना हुने लिग्स कपमा ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
जुलाई २९ देखि अगस्ट ३१ सम्म हुने प्रतियोगितामा मेक्सिकोको लिगा (एमएक्स)का सबै १८ टोली सहभागी हुने भएका छन्।
त्यस्तै, अमेरिकन सकर लिग (एमएलएस)बाट पनि १८ टोलीले नै सहभागिता जनाउने पक्का भएको हो। १८ मध्ये १७ क्लबले गत सिजन प्लेअफ खेलेका थिए। सान डियागो भने नयाँ क्लब हो।
परिवर्तित खेल संरचनाअनुसार पहिलो चरण र क्वार्टरफाइनल खेलमा एमएलएस र मेक्सिकोका क्लबबीच भिड्ने छन्। जुलाई २९ मा समूहचरणको पहिलो खेलमा कोलम्बस क्रू र टोलुबीच प्रतिस्पर्धा हुनेछ।
कोलम्बसले अगस्ट १ मा पुएब्ला र अगस्ट ५ मा लियोनलाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ। दोस्रो वरियताप्राप्त लिओनल मेस्सीसम्मिलित इन्टर मियामीले जुलाई ३० मा एटलस, अगस्ट २ मा नेकाक्सा र अगस्ट ६ मा पुमासको सामना गर्नेछ।
शीर्ष वरीयताको क्रुज अजुलले जुलाई ३१ मा सिएटल, अगस्ट ३ मा एलए ग्यालेक्सी र अगस्ट ७ मा कोलोराडोसँग खेल्नेछ। क्वार्टरफाइनल अगस्ट १९–२० मा, सेमिफाइनल अगस्ट २६–२७ मा र फाइनल खेल अगस्ट ३१ मा हुनेछ।