काठमाडौं। फरवार्ड सेरहु गुइरासीको उत्कृष्ट प्रदर्शनसहित जर्मन क्लब बोरुसिया डर्टमुन्डले मंगलबार च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा स्पोर्टिङलाई ३–० ले पराजित गरेको छ।
योसँगै डर्टमुन्डले अन्तिम १६ मा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। डर्टमुन्डका नयाँ प्रशिक्षक निको कोभाकको लागि च्याम्पियन्स लिगमा यो डेब्यु जित रह्यो।
यद्यपि, उनले गत हप्ता बुन्डेसलिगामा आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए। डर्टमुन्ड बुन्डेसलिगामा संघर्षरत छ र अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन चुनौती सामना गरिरहेको छ।
‘पहिलो हाफमा हामी धेरै सुस्त खेल्यौं। तर दोस्रो हाफमा गति बढायौं र उत्कृष्ट गोल गर्यौं। खेल्न गाह्रो मैदानमा यति राम्रो प्रदर्शन देखेर खुसी लाग्यो,’ कोभाकले भने।
स्पोर्टिङले खेलको सुरुआतमा डर्टमुन्डलाई दबाबमा राखे। म्याक्सी अराउजोको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कियो भने ३५औं मिनेटमा कन्राड हार्डरको प्रहार गोलकिपर ग्रेगर कोबेलले बचाए।
तर, दोस्रो हाफमा डर्टमुन्डले उत्कृष्ट पुनरागमन गर्यो। च्याम्पियन्स लिगका शीर्ष स्कोरर गुइरासीले ५५औं मिनेटमा पहिलो प्रयास गरे। त्यसपछि उनले जुलियन ब्रान्ड्टको क्रसमा हेड गर्दै टोलीलाई अग्रता दिलाए। प्रतियोगतामा उनको यो १०औं गोल हो।
डर्टमुन्डले लगातार दबाब बढाउँदै आठ मिनेटपछि गुइरासीको उत्कृष्ट एसिस्टमा पास्कल ग्रसले भलीमार्फत गोल गरे। ८२औं मिनेटमा करिम अडेयेमीले पाँच टचमा सम्पन्न गरिएको उत्कृष्ट काउन्टर–एट्याकमा गोल गर्दै डर्टमुन्डको सानदार जित सुनिश्चित गरे।
‘गोल खाएपछि हाम्रो मनोबल गिर्यो। टोलीले सामूहिक सन्तुलन गुमायो। नतिजा हाम्रो पक्षमा न्यायोचित छैन। हामीले डर्टमुन्डलाई उनीहरूकै शैलीमा खेल्न दियौं,’ स्पोर्टिङका प्रशिक्षक रुयी बोर्जेसले भने।
डर्टमुन्डले अब दोस्रो लेग घरेलु मैदानमा खेल्दै अन्तिम १६ मा स्थान बनाउने प्रयास गर्नेछ।