काठमाडौं। फरवार्ड रोड्रिगोले अन्य क्लबहरूको चासोप्रति आभार प्रकट गर्दै ला लिगा क्लब रियल मड्रिडसँग अझै धेरै वर्ष बिताउने इच्छा व्यक्त गरेका छन्।
२४ वर्षीय ब्राजिली खेलाडीले यो सिजन रियलका लागि सबै प्रतियोगिताका ३१ खेलमा १२ गोल गर्दै आठ असिस्ट गरेका छन्। उनलाई साउदी अरेबियन लिगका क्लबहरूबाट आकर्षक प्रस्ताव आएको बताइएको छ। यद्यपि, यसबारे आफू जानकार नरहेको उनले बताए।
‘साउदीबाट आएका प्रस्तावबारे धेरै मेरो बाबु, जो मेरो एजेन्ट पनि हुनुहुन्छ र क्लबलाई थाहा छ। म यसबारे धेरै जानकारी राख्दिनँ। अन्य क्लबहरूको चासोप्रति म धेरै आभारी छु,’ उनले भने।
उनले थपे, ‘म लामो समयदेखि रियलसँग छु र निकै खुसी छु। मैले सधैं भनेको छु, च्याम्पियन्स लिगमा यो जर्सी लगाएर खेल्नु सबैभन्दा विशेष कुरा हो।’
रियलसँगको रोड्रिगोको सम्झौता सन् २०२८ सम्म छ। ब्राजिलका नेयमारले अल–हिलाल छोडेर सान्तोसमा पुनः फर्केका छन् भने कोलम्बियाका फरवार्ड जोन डुरानले एस्टन भिल्लाबाट साउदी क्लब अल–नासरमा करिब ७७ मिलियन युरोमा बसाइ सरेर सबैभन्दा महँगो खेलाडी बनेका छन्।
रियलले मंगलबार म्यानचेस्टर सिटीको मैदानमा च्याम्पियन्स लिगको नकआउट प्लेअफको पहिलो लेग खेल्नेछ। नयाँ प्रारूपअनुसार दुवै क्लबले स्वचालित रूपमा अन्तिम १६ मा स्थान बनाउन नसकेपछि यो प्लेअफ खेल्नुपर्ने भएको हो।