काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले गत वर्ष बालोन डि’ओर अवार्ड बहिष्कार गर्ने क्लबको निर्णयलाई सही ठहर गर्दै यसको बचाउ गरेका छन्।
गत अक्टोबरमा भएको उक्त पुरस्कार समारोहमा रियल वर्षको उत्कृष्ट क्लबको रूपमा सम्मानित भएको थियो। प्रशिक्षक एन्सेलोटी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए।
उनलाई पहिलोपल्ट क्रुइफ ट्रफीको उपाधि प्रदान गरिने कार्यक्रमसमेत थियो। तर, रियलका कुनैपनि प्रतिनिधिले समारोहमा भाग लिएन।कार्यक्रमअघि नै उक्त अवार्डको सूचना चुहिएपछि रियलले अन्तिम समयमा फ्रान्सको यात्रा रद्द गरेको थियो।
भिनिसियस जुनियरलाई इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले पछि पार्दै बालोन डि’ओर अवार्ड जितेका थिए।
‘यो गलत निर्णय थियो भन्ने मलाई लाग्दैन,’ एन्सेलोटीले सोमबार पत्रकार सम्मेलनमा भने, ‘भिनिसियस नै बालोन डि’ओरका विजेता हुनुपर्थ्यो। तर, उनी विजेता नहुने पक्का भएपछि हामीले भाग लिन चाहेनौं।’
उनले थपे, ‘हामीले रोड्रीलाई सम्मान गर्दैनौं भन्ने होइन। उनी उत्कृष्ट खेलाडी हुन्। तर, रोड्रिगो अघिल्लो वर्ष यो अवार्ड जित्न योग्य थिए भन्ने कुरा मैले पनि मानेको थियो।’
रोड्रीले २०२३/२०२४ को सिजन क्लब र देशका लागि केवल एक खेल मात्र हारेका थिए। उनले स्पेनलाई युरो कप तथा सिटीलाई प्रिमियर लिग, युएफा सुपर कप र क्लब विश्वकप जिताएका थिए। रोड्री सिटीको तर्फबाट बालोन डी’ओर जित्ने क्लब इतिहासकै पहिलो खेलाडीसमेत बनेका थिए।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने रियलको बहिष्कारले कुनै समस्या सिर्जना नगरेको बताए। सिटीका डिफेन्डर रुबेन डियासले पनि यो विषयलाई महत्त्व नदिएको बताए।
‘इमानदारीका साथ भन्ने हो मैले यो अपमानजनक थियो कि थिएन भनेर एक सेकेन्ड पनि सोचिनँ। म रोड्रीको जितमा खुसी थिएँ र त्यहाँ उपस्थित भएर उहाँसँग त्यो रात उत्सव मनाएँ,’ डियासले भने।
ग्वार्डिओलाले पनि यो विषयमा कुनै ‘कटु’ भावना नरहेको बताए। ‘भिनिसियसले पनि असाधारण प्रदर्शन गरेका थिए, यसका हकदार थिए। यो विषय अब सकिएको छ,’ उनले भने।
च्याम्पियन्स लिगमा रियल र सिटीबीचको प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा तीव्र बनेको छ। यो लगातार चौथो सिजन हो, जहाँ यी दुई टोली आमनेसामने हुनेछन्। पछिल्ला तीन सिजनमा जित्ने टोलीले नै च्याम्पियन्स लिगको उपाधि चुमेको छ। यो पटक हार्ने टोलीले अपेक्षा गरेभन्दा चाँडै प्रतियोगिताबाट बाहिरिने सम्भावना छ।
भिनिसियससहित रियलले विश्वकै सबभन्दा खतरनाक आक्रमणपंक्तिको साथ म्यानचेस्टरको यात्रा गरेको छ। किलियन एमबाप्पे, जुड बेलिङ्घम, रोड्रिगो र एन्ड्रिकजस्ता खेलाडीहरू एन्सेलोटीको टोलीमा छन्।
ग्वार्डिओलाले भने रियलको आक्रमणलाई पूर्ण रूपमा नियन्त्रण गर्न असम्भव रहेको स्वीकारे। ‘९० मिनेट, १८० मिनेट वा अतिरिक्त समय गरेर २०० मिनेटसम्म पनि यी चार खेलाडीलाई नियन्त्रणमा राख्न सकिन्छ भनेर मैले सोच्दिनँ। उनीहरू असाधारण खेलाडी हुन्,’ उनले भने।