काठमाडौं। इन्टर मिलान सिरी ‘ए’ को अंक तालिकाको दोस्रो स्थानमा पुन: फर्किएको छ।
सान सिरोमा ६७ हजारभन्दा बढी दर्शकहरूको उपस्थितिमा सोमबार भएको खेलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टर पुरानै स्थानमा फर्किएको हो। इन्टरको जितमा मार्को अर्नाउटोभिचको पहिलो लिग गोल महत्त्वपूर्ण रह्यो।
यो जित इन्टरको लागि फियोरेन्टिनासँगको पछिल्लो हप्ता भएको ३–० को हारको बदला पनि थियो। यो जितले इन्टरलाई लिगको शीर्ष स्थानमा रहेको नेपोलीसँग केवल एक अंकको दूरीमा पुर्याएको छ।
२४ खेलबाट नेपोलीले ५५ अंक पुर्याएको छ भने इन्टरको ५४ अंक छ। दोस्रो हाफको सातौँ मिनेटमा अर्नाउटोभिचले हेडरमार्फत निर्णायक गोल गरेका थिए। इन्टरले पहिलो हाफमै अग्रता लिएको थियो।
लाउटारो मार्टिनेजको उत्कृष्ट हेडर मारिन पोंग्राचिचको डिफ्लेक्सनका कारण गोलमा परिणत भएको थियो, जसलाई आत्मघाती गोल मानिएको छ।
फियोरेन्टिनाले पहिलो हाफको अन्त्यमा भिडियो रेफ्रीको मद्दतले बराबरी गोल गरेको थियो। रेफ्रीले सुरुमा माटेओ डार्मियनको हातले बल छोएको भनिएको दाबी अस्वीकार गरे पनि भिएआरबाट पेनाल्टी दिएका थिए। रोलेन्डो मन्द्रागोराले सजिलै गोल गर्दै फियोरेन्टिनालाई बराबरीमा ल्याए।
तर, दोस्रो हाफमा अर्नाउटोभिचको हेडर फियोरेन्टिनाको लागि घातक साबित भयो। यस हारपछि फियोरेन्टिना सिरी ‘ए’ तालिकामा छैटौं स्थानमा नै रहेको छ।