काठमाडौं। नयाँ फर्म्याटको च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणको पहिलो खेलमा मंगलबार रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ।
गत दुई संस्करणका विजेताहरू यो पटक आश्चर्यजनक रूपमा ३६ टोलीको समूह चरण तालिकामा मध्यम स्थानमा रहे। शीर्ष आठ टोलीले प्लेअफ चरण छोडेर सिधै मार्चमा हुने राउन्ड अफ १६ मा स्थान पक्का गरिसकेका छन्।
उपाधिको ‘हकदार’ ठानिएका सिटी र रियलले आफ्नो राउन्ड अफ १६ मा सिधै पुग्न नसकेको दण्डस्वरूप प्लेअफ खेल्नुपर्ने भएको हो। धनी र प्रभावशाली क्लबहरू बायर्न म्युनिख र पेरिस सेन्ट–जर्मेन (पिएसजी) पनि यो पटक अप्रत्याशित कठिनाइमा परेका छन्।
दुई साता लगातार प्लेअफ खेल्दै यी क्लबले राउन्ड अफ १६ मा स्थान बनाउने प्रयास गर्नेछन्। आयोजक युईएफए र प्रसारणकर्ताका लागि यी खेल बोनसका रूपमा रहेका छन्।
यसले दर्शकहरूलाई थप दुई ‘ब्लकबस्टर’ खेल हेर्ने अवसर प्रदान गरेको छ। रियल आफ्नो १५ पटकको कीर्तिमान कायम राख्दै च्याम्पियन्स लिगको फाइनलमा पुगे यो सिजन १३ को सट्टा १७ खेल खेल्नुपर्ने हुन्छ।
गत वर्ष रियलले क्वार्टरफाइनलमा सिटीलाई पराजित गरेको थियो। त्यसअघि २०२२ मा दुई रोमाञ्चक सेमिफाइनल खेलपछि रियलले उपाधि जितेको थियो। तर, २०२३ मा रियललाई हराउँदै सिटीले पहिलोपल्ट उपाधि जित्यो।
यस पटक प्रशिक्षक पेप ग्वार्डिओलाले केही फरक टोली मैदानमा उतार्नेछन्। स्टार मिडफिल्डर रोड्री घाइते हुँदा खेल्न सक्ने अवस्थामा छैनन्। ‘प्लेमेकर’ केभिन डि ब्रुएन प्रायः फिट नरहने समस्या झेलिरहेका छन्।
भर्खरै क्लबमा भित्रिएका ओमार मर्मोश र निको गोन्जालेज टोलीसँग पूर्ण रूपमा घुलमिल हुन सकेका छैनन्। गोन्जालेजले आफ्नो एफए कप डेब्युका क्रममा चोट बोकेका कारण रियलविरुद्धको खेल गुमाउने सम्भावना छ।
रियल स्पेनिस लिग लिडरको रूपमा अघि बढिरहेको छ। फ्रान्सेली सुपरस्टार किलियन एमबाप्पेले पछिल्ला आठ खेलमा नौ गोल गर्दै टोलीलाई उत्कृष्ट लयमा फर्काएका छन्।
एमबाप्पेले एट्लेटिको मड्रिडविरुद्ध शनिबार गोल गरेका थिए। मंगलबारको खेलमा उनी र एर्लिङ हालान्डबीचको प्रतिद्वन्द्विता खेलको मुख्य आकर्षण हुने अनुमान गरिएको छ।
विजेता भने फेब्रुअरी १९ मा सान्टियागो बर्नाबेउ रंगशालामा हुने दोस्रो लेगमा टुंगो लाग्नेछ।