काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कास्कीको पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा चर्च ब्वाइजले आर्मीलाई १–० ले हराएको हो। योसँगै साबिक विजेतासमेत रहेको आर्मी क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
आर्मीले सिधै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। चर्च ब्वाइजले भने न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियो।
अब चर्च ब्वाइजले फाइनल प्रवेश गर्न अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने छ। यी दुईबीचको खेल बुधबार हुने तय छ।
चर्च ब्वाइजलाई अन्तिम चारमा पुर्याउन राज भूषालले गरेको गोल नै निर्णायक बन्यो। बराबरीतर्फ उन्मुख खेलको निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा राजले हेडरमार्फत गोल गरेका हुन्।
नवीन लामाले कर्नरबाट दिएको बललाई राजले जालीको दिशा दिएका हुन्। जारी प्रतियोगितामा राजको यो पहिलो गोल हो।
बागमती युथ क्लबलाई ‘बी’ डिभिजनमा उकाल्न राजले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सो लय आहा रारा गोल्डकपमा पनि जारी राखे। योसँगै चर्च ब्वाइज लगातार दोस्रोपल्ट सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
गत संस्करण चर्च ब्वाइज आर्मीसँग २–१ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो। यसपल्ट टोलीले उक्त बदला क्वार्टरफाइनलमै लिन सफल भयो।