काठमाडौं। सूर्य बोहराको ह्याट्रिकसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि एकपक्षीय जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा थ्री स्टारले लिगकै कमजोर टोली आर्मीमाथि ७–० को जित हात पारेको हो।
योसँगै तेस्रो स्थानको थ्री स्टारले १२ खेलबाट २५ अंक पुर्याएको छ। समान खेलबाट आर्मी अंकविहीन छ।
पूर्ण श्रेष्ठ, सूर्य बोहरा र धिरेन्द्र शाहीले गोल गर्दै पहिलो हाफमै थ्री स्टारलाई ३–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको तेस्रो मिनेटमै सूर्यले अर्को गोल थपे। त्यसपछि ५६ र ६०औं मिनेटमा भूपेन्द्रबहादुर रावतले गोल गर्दै टोलीको अग्रता ६–० मा पुर्याएका थिए।
इन्जुरी समयको दोस्रो मिनेटमा सूर्यले ह्याट्रिक पूरा गर्दै थ्री स्टारलाई सानदार नतिजा दिलाए।