काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आइतबार एफए कपको चौथो चरणमा प्लेमाउथसँग १–० को स्तब्धकारी हार भोग्दै बाहिरिएको छ।
योसँगै लिभरपुलको यस सिजनमा चार वटा प्रमुख उपाधि जित्ने सपना पनि अन्त्य भएको छ।
लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दै तालिकामा ६ अंकको अग्रता लिएको छ।दोस्रो स्थानको आर्सनलको भने २४ खेलबाट ५० अंक छ।
लिभरपुलले च्याम्पियन्स लिगको पहिलो चरण शीर्ष स्थानमा रहेर समाप्त गरेको छ र इङ्लिस लिग कपको फाइनलमा स्थान बनाइसकेको छ।
दोस्रो श्रेणीको क्लब प्लेमाउथका रायन हार्डीले खेलको ५३औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अप्रत्याशित जित दिलाए।
दक्षिण–पश्चिम इङ्ग्ल्यान्डस्थित प्लेइमाउथ क्लब दोस्रो श्रेणी च्याम्पियनसिपको पुछारमा छ र हालै म्यानचेस्टर युनाइटेड पूर्वखेलाडी वायन रुनीलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो।
च्याम्पियनसिपमा प्लेमाउथले ३० खेलबाट २५ अंक बटुलेको छ। लिभरपुलले मोहम्मद सालाह, कोडी गाक्पो र भर्जिल भान डाइकजस्ता स्टार खेलाडीबिना अत्यधिक परिवर्तन गरिएको टोली मैदानमा उतारेको थियो, जसको कारण यस हारको सामना गर्नुपर्यो।