इलाम। १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको खेलमा पथरीशनिश्चरे खेलकुद समिति मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ अन्तिम चारमा प्रवेश गरेको हो। ताप्लेजुङको जितमा सुस्मा लिम्बू, अनुश्का शेर्पा र सुजता लिम्बूले समान एक गोल गरे।
१७औं मिनेटमा सुस्माले गोल गर्दै ताप्लेजुङलाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि ४७ औं मिनेटमा अनुश्काले गोल गर्दै अग्रता दोब्बर बनाइन्। ४९औं मिनेटमा सुजताले गोल गर्दै ३–० को सहज जित दिलाइन्। खेलको प्लेयर अफ द म्याच ताप्लेजुङकी सुस्मा घोषित भइन्।
उनले तीन हजार ६९ रुपैयाँ हात पारिन्।