काठमाडौं । राजधानीमा जारी रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) तय भएका खेलहरु स्थगित गरिएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बुधबार पाँच खेल हुने तय भएको थियो । तर, मंगलबार रातिबाट लगातार परेको वर्षाको कारण बुधबार हुने खेलहरु स्थगित गरिएको हो ।
क्लबसंग रहेको खुल्ला भलिबल कोर्ट अविरल परेको वर्षाको कारण हिलाम्य भएको र बुधबार खेल संचालन गर्न नसकिएको क्लबका अध्यक्ष मन बिर छन्त्यालले खेलपाटीलाई जानकारी गराए । प्रतियोगिताका बाँकी खेलहरु बिहिबारबाट भने नियमित हुने अध्यक्ष छन्त्यालले जानकारी गराए ।
प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब र थाहा नगरपालिका मकवानपुर, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपीएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपीएफ र चितवन टाईग्रेसबीचको खेल तय भएको थियो ।
डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा ९ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । यस्तै चौथौ हुनेलाई ६० हजार, पाचौँ हुनेलाई ४० हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले सुजिकी स्कुटर पाउनेछन् । उकृष्ट खेलाडी,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।