काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले रेडबुल ढोरपाटन सुजुकी महिला भलिबलमा जित निकालेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा सोमबार एपीएफले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई ३ - ० को सोझो सेटमा पराजित गर्यो ।
एपीएफले दाङलाई २५-२०,२५-११ र २५-८ को सेटमा हरायो । आर्मीले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-३,२५-७ र २५-४ को सेटमा हरायो । आर्मीले अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । र,आर्मी शिर्ष स्थानमा छ ।
यस्तै सोमबार अर्को विभागीय टिम नेपाल पुलिस क्लबले सेब स्कुललाई २५-१३,२५-१३ र २५-९ को सेटमा हरायो । त्यसै अर्को खेलमा दाङले सेबलाई २५-९,२५-१८ र २५-११ को सेटमा हराएको छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा ९ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । यस्तै चौथौ हुनेलाई ६० हजार, पाचौँ हुनेलाई ४० हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले सुजिकी स्कुटर पाउनेछन् । उकृष्ट खेलाडी,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।
व्यक्तिगत विधातर्फ बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ६ हजारका दरले पुरस्कार पाउने छन् ।