पोखरा । विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लबले दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
पोखरा रंगशालामा एपीएफले पुलिसमाथि २५-८,२५-१८ र २५-१७ को सेटमा हरायो । उपाधिसंगै एपीएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले १ लाख ७५ हजार प्राप्त गर्यो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा प्रदेश नम्बर ३ तेस्रो बन्यो । ३ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई २५-१४,२०-२५,२५-१४ र २५-१७ को सेटमा पाखा लगायो ।
तेस्रो बनेको प्रदेश नम्बर ३ ले १ लाख रुपैयाँ प्राप्त गर्दा चौथो बनेको गण्डकीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको एपीएफकि सरस्वती चौधरी उत्कृष्ट खेलाडी बन्दै १० हजार प्राप्त गरिन ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाईकर प्रतिभा मलि, सेटर कमला पुन, लिबरो शान्ति तामाङ, सर्भर अरुणा शाही र ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट हुने सबैले समान ५/५ हजार प्राप्त गरे ।