पोखरा । पोखरामा जारी दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई ३ - ० को सोझो सेटमा हराएर फाइनल यात्रा तय गरेको हो । एपीएफले गण्डकीलाई २५-८,२५-१८ र २५-११ को सेटमा हरायो ।
यस्तै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पुलिसले प्रदेश नम्बर ३ लाई ३ - २ को सेटमा हराएर एपीएफसंगको भेट पक्का गर्यो ।
पुलिसले प्रदेश ३ लाई १८-२५, २५-२०, २३-२५, २७-२५ र १५-७ को सेटमा हरायो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ७५ हजार, तेस्रोले १ लाख रुपैयाँ र चौथोले सान्त्वना स्वरुप २५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाईकर, सेटर, लिबरो, ब्लकर, सर्भर र प्रशिक्षकले समान ५/५ हजार पाउनेछन् ।