पोखरा । विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर ३ पोखरामा जारी दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा बिहिबार भएको क्वाटरफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाएको हो । एपीएफले आर्मीलाई २५-१५, २५-१९ र २५-१७ को सेटमा पाखा लगायो ।
प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई ३-० कै सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान पक्का गर्यो । प्रदेश नम्बर ३ ले प्रदेश १ माथि २५-३,२५-१४ र २५-१० को सेटमा हरायो ।
यस्तै गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई ३-० को सोझो सेटमा हराएर अन्तिम चारको यात्रा तय गर्यो । गण्डकीले प्रदेश ५ लाई २५-१४,२५-६ र २५-१७ ले हरायो ।
त्यस्तै अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर २ लाई ३–० को सोझो सेटमा हरायो । सेमिफाइनलमा पुग्ने क्रममा पुलिसले प्रदेश २ लाई २५-१४,२५-१७र २५-१२ को सेटमा हराएको हो ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । अब सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशसंग खेल्नेछ ।यस्तै प्रदेश ३ ले नेपाल पुलिसको सामना गर्नेछ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ७५ हजार, तेस्रोले १ लाख रुपैयाँ र चौथोले सान्त्वना स्वरुप २५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाईकर, सेटर, लिबरो, ब्लकर, सर्भर र प्रशिक्षकले समान ५/५ हजार पाउनेछन् ।