काठमाडौं । तेस्रो संस्करणको दिदीबहिनी कप महिला भलिबल प्रतियोगिता पर्वत जिल्लाको सदरमुकाम कुश्मामा माघ अन्तिम साता आयोजना हुने भएको छ ।
आयोजक सामूदायिक रेडियो, रेडियो दिदीबहिनीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २९ देखि फागुन १ गतेसम्म संचालन हुने जनाएको हो ।
प्रतियोगितामा विभागीय टोली एपीएफ, पुलिस र आर्मी, न्यु डाईमण्ड एकेडमी, पश्चिमाञ्चल भलिबल संघ र आयोजक गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा लिगकम नकआउटको आधारमा सञ्चालन हुने छ ।
प्रतियोगिताको ६ टोलीलाई दुई समूहमा विभाजन गरी खेल खेलाइने छ । प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने छन् । यसपटक अघिल्लो बर्षको पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
यस्तै सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र सर्भरले ५/५ हजार पाउनेछन्।
कुश्मा बजारमा हुन लागेको बृहत ११ औं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा महिला भलिबल आयोजना गर्न लागेको रेडियोकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन् ।
यस्तै महोत्सवको दौरान खुल्ला दौड प्रतियोगिता समेत हुनेछ दौडतर्फ विजेताले २५ हजार, उपविजेताले १५ र तेस्रोले १० हजार पाउनेछन् । त्यस्तै डान्स आइडल, र्याली तथा झाकी, रत्यौली र भजन प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।