काठमाडौं । दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।
काठमाडौंस्थित न्यु डायमण्डको भलिबल काेर्टमा भएको खेलमा एपीएफ ३–१ ले विजयी बनेको हो ।
उपाधिसंगै एपीएफले ३ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता न्यु डायमण्डले २ लाख रुपैयाँमा चित्त बुझायो ।
उपाधि भिडन्तमा पहिलो सेट गुमाएपनि लगातार तीन सेटमा जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो ।
फाईनलमा प्रतिभा मालीले ४२ अंक जोडेपनि टोलीलाई जिताउन सकिनन् । एपीएफकी सरस्वती चौधरीले ३१ अंक जोडिन् ।
घरेलु टोलीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर खेलमा एपीएफले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो सेट २५–२१ ले जितेको एपीएफले दोस्रो २५–२३ र तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो ।
लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा ८ टोली सहभागि थिए । पोखराको टप्स मा बिलाई पराजित गर्दै अर्को विभागीय टिम पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो ।
विधागततर्फ न्यु डायमण्डको बर्चस्व :
प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रहन पुग्यो । एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडी घाषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घाेषित भईन् ।
न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललिता नाथ उत्कृष्ट क्विकर घोषित भईन् । न्यु डायमण्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए ।
एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर चुनिदाँ ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।
विधागततर्फकाे उत्कृष्ट खेलाडीले जनही ५\५ हजार रुपैयाँ प्राप्त गरे ।