काठमाडौं । आयोजक न्यु डायमण्ड एकेडेमी र सशत्र प्रहरीको एपीएफ दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको क्वाटरफाइनलमा न्यु डायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३ - ० को सेटमा हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यु डायमण्डले आर्मीलाई २५-२३,२५-१३ र २५-२२ को सेटमा पाखा लगायो । हारसंगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
अब न्यु डायमण्डले सेमिफाइनलमा पोखराको टप्स मा.बिसंग खेल्नेछ । टप्सले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-६, २१-२५, २५-१६ र २५-१९ को सेटमा हरायो ।
आयोजक एकेडमीको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पारामाउन्ट स्कुललाई ३ - ० को सेटमा हराएर सेमिफाइनलमा स्थान पक्का गर्यो । एपीएफले पारामाउन्टलाई २५-३,२५-१० र २५-१५ को सेटमा हरायो ।
अब एपीएफले सेमिफाइनलमा डर्बी क्लब नेपाल पुलिससंग खेल्नेछ । पुलिसले चितवन टाइग्रेसलाई ३ - ० को सेटमा हराएर अन्तिम चारको यात्रा तय गरेको हो । पुलिसले चितवनलाई २५-१७, २५-७ र २५-१० को सेटमा हरायो ।
न्यु डायमण्ड स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।