काठमाडौं । आयोजक न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
बुधबार भएको उद्घाटन खेलमा न्यु डायमण्डले चितवन टाईग्रेसलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । न्यु डायमण्डले चितवनलाई २५-१३, २५-१८ र २५-११ को सेटमा पराजित गरेको हो ।
यस्तै पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३ - ० को सेटमा पाखा लगायो । पुलिसले आर्मीमाथि २५-२२, २५-२१ र २५-१८ को सेटमा जित निकाल्यो ।
आयोजक एकेडमीको भलिबल कोर्टमा भएको अर्को खेलमा सशत्र प्रहरीको एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३ - ० को सेटमा हराएर विजयी सुरुवात गरेको छ । एपीएफले जावलाखेललाई २५-५, २५-१० र २५-८ को सेटमा पाखा लगायो ।
त्यस्तै पोखराको टप्स मा.बिले पारामाउन्ट स्कुललाई ३ - ० को सेटमा हरायो । टप्सले पारामाउन्टमाथि २५-१४,२५-१२ र २५-१० को सेटमा हरायो ।
न्यु डायमण्ड स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा जारी प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।